२९ साउन,काठमाडौं । इटालीको लाम्पेडुसा टापुको तटमा बिहीबार एउटा डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासी तथा शरणार्थीहरू समुद्रमा डुबेको संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त (युएनएचसीआर) फिलिपो ग्रान्डीले पुष्टि गरेका छन्।
ग्रान्डीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् कि सन् २०२५ मा मध्य भूमध्यसागरमा ७०० भन्दा बढी शरणार्थी र आप्रवासीहरूको मृत्यु भइसकेको छ। उनले घटनाको गम्भीरता औँल्याउँदै उद्धार अभियानलाई तीव्र बनाउन, सुरक्षित मार्गहरू स्थापना गर्न र ट्रान्जिट देशहरूलाई सहयोग गर्न जोड दिएका छन्।
युएनएचसीआरका इटालीस्थित अधिकारीहरूले डुबेको डुङ्गाबाट जीवितलाई उद्धार गर्न लागिएको जानकारी दिएका छन्।
आइओएमका भूमध्यसागरीय समन्वय कार्यालयका प्रवक्ता फ्लेभियो डि गियाकोमोले भनेका छन् कि लिबियाबाट दुई डुङ्गामा करिब ९५ जना आप्रवासी मध्य भूमध्यसागरमा यात्रा गरेका थिए। डुङ्गा डुब्न थालेपछि यात्रुहरू अर्को डुङ्गामा सरेका थिए, जसका कारण अत्यधिक भारले डुङ्गा पल्टिएको हो।
दुर्घटनामा ६० जनालाई उद्धार गरिएको छ भने ३५ जना अझै बेपत्ता छन्।
आइओएमका तथ्याङ्क अनुसार यस वर्ष अगस्ट १३ सम्म भूमध्यसागर मार्गमा कम्तीमा ९६२ आप्रवासीको मृत्यु भइसकेको छ। मध्य भूमध्यसागरमा ६७५, पश्चिमी भूमध्यसागरमा १५५ र पूर्वी भूमध्यसागरमा १३२ जनाको मृत्यु भएको छ।
सन् २०१४ देखि मध्य भूमध्य मार्गलाई आइओएमले विश्वकै सबैभन्दा घातक मार्गको रूपमा चिन्हित गरेको छ, जहाँ २५ हजार २६० भन्दा बढी मानिसको ज्यान गएको छ। आइओएमले चेतावनी दिएको छ कि वास्तविक मृत्यु संख्या अझ धेरै हुनसक्ने सम्भावना छ।
यस घटनाले विश्वभर आप्रवासन र शरणार्थी संकटको गम्भीरतालाई पुनः उजागर गरेको छ र उद्धार तथा सुरक्षाका उपायहरूलाई तीव्रता दिनुपर्ने माग बढाएको छ।

















