३० साउन, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरी जिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।
बिहान ११ बजे धनुषा आइपुग्ने तय भएको प्रधानमन्त्री ओलीको पहिलो कार्यक्रम मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन हुनेछ। उद्घाटनपछि उनी महोत्तरीतर्फ प्रस्थान गर्नेछन् ।
महोत्तरीको सोनमा गाउँपालिकामा उनले कालोपत्रे सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रम छ। यो सडक हुलाकी राजमार्गको रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डमा पर्नेछ, जसको लम्बाइ ८ दशमलव ३८४ किलोमिटर छ।
सडक निर्माण मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारीमा र विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत हुँदैछ।
पूर्वाधार विकास कार्यालय जलेश्वरका अनुसार, कुल लागत ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपैयाँको टेन्डर प्रक्रियाबाट ढुकुछु निर्माण कम्पनी प्रालिले १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँ (भ्याट सहित) मा काम गर्ने सम्झौता गरेको छ। सडक २०८३ साल चैत्र ११ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।















