Logo

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, यस पटक मोदीले परम्परागत नयाँदिल्लीको हैदराबाद हाउसमा नभई गौतम बुद्धले ज्ञान प्राप्त गरेको पवित्र स्थल बोधगयामा वार्ताको व्यवस्था मिलाएका हुन् ।

प्रधानमन्त्री ओली भदौ ३१ गते भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्री पदमा दोस्रो कार्यकाल शुरु गरेको १४ महिनापछि उनी पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।

भ्रमणको तयारीस्वरूप भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार काठमाडौं आउने भएका छन्। उनले प्रधानमन्त्री मोदीको तर्फबाट ओलीलाई औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, मिस्रीको यस भ्रमणबाट ओलीको भारत भ्रमणको कार्यतालिका र बोधगया यात्रा मार्गसमेत अन्तिमरूप दिने तयारी गरिएको छ ।

यस भेटवार्तालाई दुई देशबीच राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण अवसरका रूपमा लिइएको छ । बोधगयामा हुने उच्चस्तरीय वार्ताले नेपाल–भारत सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै