३० साउन, काठमाडौं । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पुगेको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकले व्यावसायिक पानीजहाज सञ्चालनका लागि १४ वटा मापदण्ड प्रस्ताव गरेको छ ।
यस विधेयकले आन्तरिक जलमार्ग र व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने पानीजहाजहरूको दर्ताका लागि फरक–फरक सर्तहरू तोकेको छ।विधेयकको दफा ८ मा उल्लेख गरिएअनुसार, व्यावसायिक पानीजहाज दर्ता गर्न विभिन्न सर्तहरू पूरा गर्नुपर्नेछ । जसमा पानीजहाजको प्रयोजन खुलाउनुपर्नेछ र यसको स्वामित्व नेपाली नागरिक वा नेपालमा दर्ता भएको फर्म वा कम्पनीसँग हुनुपर्नेछ ।
यद्यपि, विदेशी स्वामित्वको पानीजहाज भाडामा लिई सञ्चालन गर्न सकिनेछ । नेपालमा बनेको पानीजहाज भए निर्माण सम्पन्नताको प्रमाणपत्र र विदेशमा बनेको भए खरिदको प्रमाण तथा उत्पादनको तादात्म्यता सम्बन्धी कागजात आवश्यक पर्नेछ । नेपाल पक्ष भएका पानीजहाज सेवा सञ्चालनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिहरूका प्रावधानहरूको पालना गर्नुपर्नेछ ।
क्लासिफिकेसन सोसाइटीले दिएको प्राविधिक सर्भे प्रमाणपत्र वा दफा १९ बमोजिमको सर्भे प्रमाणपत्र संलग्न हुनुपर्नेछ । सामुद्रिक जीवनको सुरक्षासम्बन्धी महासन्धी अनुसारको सुरक्षा मापदण्ड पूरा गरी दफा ५० बमोजिमको सुरक्षा प्रमाणपत्र पेश गर्नुपर्नेछ । पानीजहाजमा कार्यरत नाविक र कर्मचारीको विवरण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम लिएको प्रमाणपत्र संलग्न गर्नुपर्नेछ । दफा ५६ बमोजिमको प्रदूषणमुक्त प्रमाणपत्र र वातावरणीय संरक्षणसम्बन्धी प्रचलित कानुनबमोजिमका मापदण्डहरू पूरा गर्नुपर्नेछ ।
पानीजहाजको स्वामित्वमा विवाद भएमा त्यो टुङ्गिएको प्रमाण, दफा १५ बमोजिम बिमा गरिएको प्रमाण र सबै कर तथा शुल्क दर्ता, सर्भे, प्रमाणीकरण तिरेको प्रमाण पेश गर्नुपर्नेछ ।
अन्तर्राष्ट्रिय सामुद्रिक सञ्चार प्रणाली जस्ता सञ्चार उपकरण जडान गरी दफा ३७ बमोजिमको प्रमाणपत्र संलग्न गर्नुपर्नेछ । पुराना पानीजहाजस् एक पटक प्रयोग भइसकेको पानीजहाजको हकमा दर्ता रद्द भएको निस्सा संलग्न गर्नुपर्नेछ । विधेयकको यो व्यवस्थाले जलमार्गको नियमन र सुरक्षालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।















