३० साउन, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय वृद्धि भएको छ ।
कुल २० वटा वाणिज्य बैंकमध्ये १६ वटाको नाफा बढेको छ भने ४ वटाको नाफा घटेको छ । यस वर्ष समग्रमा बैंकहरूको खुद नाफा ४३ दशमलव ६८ प्रतिशतले बढेर ७१ अर्ब १८ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यस नाफा वृद्धिको अग्रपंक्तिमा नबिल बैंक रहेको छ, जसले ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढी नाफा कमाएर शीर्ष स्थान कायम गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल आईएमई बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । गत वर्षको तुलनामा प्रभु बैंकले ९६५ दशमलव ४१ प्रतिशतको चामत्कारिक वृद्धि गर्दै नाफाको चौथो स्थानमा उक्लिएको छ, जुन विशेषतः उल्लेखनीय छ ।
यस वर्ष नाफा घट्ने बैंकहरूमा नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआईसी एसिया बैंक र सिटिजन्स बैंक रहेका छन् । एनआईसी एसिया बैंकको नाफामा सबैभन्दा ठूलो गिरावट आएको छ, जुन ७६ दशमलव ९७ प्रतिशतले घटेको छ ।
बैंकहरूको यस वित्तीय प्रदर्शनले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको संकेत गरेको छ । सरकारले दाबी गर्दै आएको अर्थतन्त्रको सुधारलाई यस पटक बैंकहरूको वित्तीय विवरणले पुष्टि गरेको छ ।















