३० साउन,काठमाडौं । भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदैछ। हरेक वर्ष अगस्ट १५ मा मनाइने यो दिन ब्रिटिस उपनिवेशवादको अन्त्य र भारत एक स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको प्रतीक हो।
भारतभर यो दिवस देशभक्ति र एकताको भावना झल्काउने विभिन्न कार्यक्रम र सांस्कृतिक गतिविधिहरूका साथ मनाइन्छ। यसको मुख्य कार्यक्रम राजधानी दिल्लीको लाल किल्लामा आयोजना गरिन्छ, जहाँ भारतका प्रधानमन्त्रीले राष्ट्रिय झण्डा फहराउनुहुन्छ। झन्डोत्तोलनपछि २१ तोपको सलामी र राष्ट्रगान प्रस्तुत गरिन्छ।
यस वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा तिरंगा फहराएर देशलाई सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक लाल किल्लाको प्राचीरबाट स्वतन्त्रता दिवसलाई सम्बोधन गर्नुभएको हो।
यस पटकको समारोहमा देशभरका २६ राज्य र केन्द्र शासित प्रदेशबाट छानिएका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। प्रधानमन्त्री मोदीले यस अवसरमा सबै देशवासीलाई बधाई पनि दिनुभएको छ।

















