काठमाडौँ प्रहरीले अवैध क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् । उनीहरूले ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, पक्राउ परेका ओमप्रकाश जयसवाल, मनमोहन कुमार सिंह, विक्रम जयसवाल र मुन्ना जयसवाललाई कालोपुलबाट नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरूको साथबाट १५ लाख ३३ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ ।
प्रहरी प्रवक्ता एसपी अपील राज बोहराले दिएको जानकारीअनुसार, अनुसन्धानका क्रममा उनीहरूले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको देखिएको छ । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार अवैध मानिन्छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।















