३० साउन,कुवेत । रोजगारीका लागि कुवेत पुगेका ९ नेपाली नागरिकको ज्यान गएको छ। प्रारम्भिक जानकारी अनुसार, विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको छ।
श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार पछिल्ला तीन दिनमा कुवेतमा रहेका ९ नेपालीको मृत्यु भएको पुष्टि भएको छ भने १५ जनाभन्दा बढी अहिले अस्पतालमा उपचाररत छन्।
“पछिल्लो तीन दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ,“ उनले नेपालखबरसँग भने, “१५ जनाभन्दा धेरै अहिले उपचारमा हुनुहुन्छ। मृत्युको यकिन कारण मेडिकल रिपोर्ट आएपछि मात्र थाहा हुनेछ।“
कुवेतमा मदिरा सेवन कानुनी रूपमा प्रतिबन्धित भए पनि गैरकानुनी रूपमा सेवन गरिने मदिरा विषाक्त हुने गरेका कारण यस्तो घटनाहरू बेलाबेलामा हुने गरेका छन्। यसपटकको घटनामा नेपाली कामदारहरू समेत परेका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले घटनाबारे विस्तृत जानकारी संकलनको काम भइरहेको बताए। “यस विषयमा के भएको हो भनेर कुवेतस्थित नेपाली राजदूतावासलाई बुझ्न भनेका छौँ,“ क्षेत्रीले जानकारी दिए, “दूतावास घटनाको विवरण संकलनमा लागेको छ, विस्तृत विवरण भने अझै प्राप्त भइसकेको छैन।“
कुवेतस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूले घटनाको यथार्थ विवरण संकलन गर्दै आवश्यक राहत तथा उद्धारमा पहल थालिएको बताइएको छ।
यस घटनाले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। विज्ञहरूले यस्ता घटनाबाट भविष्यमा बच्न श्रमिकहरूलाई सचेतना र सुरक्षित वातावरणको व्यवस्था गर्न राज्यले ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।















