३० साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले मनोहरा नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीय बासिन्दासँगको झडपमा तीन जना नगर प्रहरी घाइते भएका छन् ।
सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन पुगेको टोलीमाथि बस्तीका बासिन्दाले ढुङ्गामुढा गरेपछि तनाव उत्पन्न भएको हो । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले संयुक्त रूपमा चलाएको अभियानअन्तर्गत डोजर प्रयोग गरेर करिब २० देखि २५ वटा घर र टहरा भत्काइएको छ । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार बस्ती हटाउनुअघि पटक(पटक सूचना दिइए पनि स्थानीयले अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो ।
घटनास्थलमा अहिले पनि स्थिति तनावपूर्ण रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि पनि थापाथलीमा सुकुम्बासी बस्ती हटाउने प्रयास गर्दा झडप भएको थियो ।















