३० साउन,काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षक पदमा नियुक्ति लिएको ठहर गर्दै विशेष अदालतले अशोककुमार साहलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले २०८१ साल जेठ २२ गते दायर भएको मुद्दामा शुक्रबार फैसला सुनाएको हो।
अदालतको फैसलामा भनिएको छ कि साहले २०६९ कात्तिक २५ गते राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षकका रूपमा नियुक्ति पाउँदा भारतको कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट सन् २००४ मा प्राप्त ‘नवीन उत्तरमध्यम’को प्रमाणपत्र पेश गरेका थिए। तर अनुसन्धानपछि सो प्रमाणपत्र नक्कली भएको पुष्टि भएको हो।
अदालतका अनुसार दरभंगा विश्वविद्यालयले १९ जुलाई २०२५ मा पत्रमार्फत उक्त शैक्षिक कार्यक्रम नै विश्वविद्यालयमा दर्ता नभएको स्पष्ट गरेको छ। त्यसको आधारमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले २०८२ साउन २२ गते पत्र जारी गर्दै प्रमाणपत्र नक्कली रहेको पुष्टि गरेको अदालतले जनाएको छ।
यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अन्तर्गत पर्ने अपराध भएकाले सोही अनुसार साहलाई कैद र जरिवानाको सजाय सुनाइएको हो।
न्यायालयको यस निर्णयले शैक्षिक क्षेत्रमा देखिएको नक्कली प्रमाणपत्रको दुरुपयोग विरुद्ध कडाइका साथ कारबाही सुरु भएको सन्देश दिएको छ।















