Logo

३० साउन,वीरगञ्ज । नेपाली राजनीतिक चिन्तक तथा समाजवादी नेता प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा वीरगंजमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ। ’उत्साह र सङ्घर्षको आलोकमा प्रदीप गिरिको सम्झना’ शीर्षकको यस कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

२०२२ सालको अगस्टमा हामीबाट बिदा भएका प्रदीप गिरिको विचारले अझै पनि नेपाली राजनीति र सार्वजनिक जीवनलाई मार्गदर्शन गरिरहेको विश्वासका साथ प्रदीप गिरि इन्स्टिच्युटले यस कार्यक्रमको आयोजना गरेको हो। गिरिले जीवनभर सत्य, न्याय, समावेशी राजनीति र सामाजिक न्यायका लागि वकालत गरेका थिए।

कार्यक्रमको विवरण
२०८२ साल भदौ ७ गते, शनिबार (अगस्ट २३, २०२५) वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान १०ः३० बजेदेखि कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा उद्घाटन समारोहपछि तीनवटा महत्त्वपूर्ण प्यानल छलफल सञ्चालन गरिनेछ।

१. उद्घाटन सत्र (१०ः३० बजे)
कार्यक्रमको सुरुवात प्रदीप गिरिको स्मृतिमा वृत्तचित्र प्रदर्शन र उनका निकटस्थ तथा अनुयायीहरूले श्रद्धाञ्जली अर्पण गरेर हुनेछ।

२. पहिलो सत्र (११ः०० बजे)
यस सत्रमा ’किन नागरिक समाज र सञ्चारमाध्यमलाई प्रदीप गिरिको खाँचो महसुस हुन्छः आज विवेकको बोली कसले बोल्ने?’ शीर्षकमा छलफल हुनेछ। यसमा नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिको वर्तमान अवस्थामा देखिएका चुनौतीहरू र विवेकपूर्ण आवाजको आवश्यकतामाथि गहन मन्थन गरिनेछ।

३. दोस्रो सत्र (१२ः१५ बजे)
’प्रदीप गिरिः मनैदेखि समाजवादी वा परिचयभन्दा माथिको एक दूरदर्शी जसले लोकतन्त्र बाँच्यो?’ शीर्षकमा दोस्रो सत्र सञ्चालन हुनेछ। यस छलफलले गिरिको आर्थिक दृष्टिकोण, समाजवाद र व्यक्तिगत स्वतन्त्रताबीचको सन्तुलन कायम गर्ने उनको शैलीमाथि प्रकाश पार्नेछ। नेपाल र भारतको आर्थिक रूपान्तरणको सन्दर्भमा उनका विचारको सान्दर्भिकतामाथि पनि चर्चा गरिनेछ।

४. तेस्रो सत्र (१ः३० बजे)
तेस्रो तथा अन्तिम सत्रमा ’नेपाल, भारत र सीमाञ्चलः युवा, संस्कृति र पहिचानको राजनीति’ शीर्षकमा छलफल हुनेछ। नेपालको मधेसमा जन्मिएर भारतको बनारसबाट आफ्नो विचारलाई आकार दिएका गिरिले सीमालाई विभाजनको सट्टा सेतुका रूपमा हेर्ने दृष्टिकोणबारे चर्चा हुनेछ। यस सत्रमा दुवै देशका युवाहरूलाई जोड्ने सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्धहरूमाथि केन्द्रित रहेर बहस हुनेछ।

प्रदीप गिरि इन्स्टिच्युट (pgi)
कार्यक्रमको आयोजक प्रदीप गिरि इन्स्टिच्युट (एन्क्ष्) एक गैरनाफामुलक संस्था हो। गिरिको जीवन, विचार र विरासतलाई सम्मान गर्दै उनले अङ्गालेका मूल्य र मान्यताहरूलाई जीवन्त राख्न यो संस्था स्थापना गरिएको हो। यसको लक्ष्य गिरिका विचारहरूको संरक्षण, प्रसार, र समावेशी लोकतन्त्र, नैतिक राजनीति तथा सामाजिक न्यायको वकालत गर्नु रहेको छ।

इन्स्टिच्युटका अनुसार, यो कार्यक्रम गिरिको सम्झनाका लागि मात्र नभई उनले थालेका संवादहरूलाई निरन्तरता दिने र उनको दृष्टिकोणलाई अगाडि बढाउने प्रयास पनि हो। यस कार्यक्रमले उनका मित्रहरू, राजनीतिक नेताहरू, र प्रशंसकहरूलाई एकै ठाउँमा ल्याएर उनको विरासतलाई सम्मान गर्ने र उनका विचारहरूमाथि चिन्तन गर्ने अवसर प्रदान गर्नेछ।


सम्बन्धित समाचार