३० साउन,काठमाडौं। गुन्डा नाइकेको छवि बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले १ लाख १० हजार रुपैयाँ धरौटीमा चक्रेलाई रिहा गर्न शुक्रबार आदेश दिएको हो।
जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार, चक्रे मिलनले तोकिएको धरौटी रकम बुझाइसकेका छन् र हाल रिहाको प्रक्रिया अगाडि बढिरहेको छ।
ज्यान मार्ने उद्योगमा नयाँ मुद्दा
चक्रेविरुद्ध २०७८ साल भदौ १० गते घटेको एक घटनाका आधारमा ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा दर्ता भएको थियो। आरोप अनुसार, उनले सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आफ्नै भतिज मनिष रायमाझीमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए।
पीडितका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएपछि सो मुद्दा अगाडि बढाइएको हो। जाहेरीमा सर्लाहीको हरिवन नगरपालिका–४ का २५ वर्षीय अजित खवाससहित अन्यको नामसमेत उल्लेख थियो। खवासलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको भए पनि चक्रे वतन नखुलेको भन्दै लामो समयसम्म प्रतिवादी सूचिमा थिएनन्।
तीन दिनभित्र दुई पटक धरौटीमा छुटे
यसअघि चक्रे बुधबार (२८ साउन) मात्रै अभद्र व्यवहारको मुद्दामा ३० हजार धरौटीमा काठमाडौं जिल्ला अदालतबाट रिहा भएका थिए। न्यायाधीश खिमानन्द भुसालको आदेशमा उनी धरौटी बुझाएर छुटेका थिए।
तर भक्तपुरमा अर्को मुद्दा रहेको भन्दै रिहा लगत्तै उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।
जन्मदिन पार्टीबाट पक्राउ
१५ साउनमा चक्रे मिलन महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिन पार्टी मनाइरहेका बेला उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त अपरेशनमा उनीसहित ४७ जना पक्राउ परेका थिए। पार्टीमा मध्यराति होहल्ला र अशान्ति भएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। तीमध्ये २८ जनालाई तत्काल छोडिएको थियो।
चक्रे मिलन लामो समयदेखि काठमाडौं उपत्यकामा आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति भनेर चिनिँदै आएका छन्। पछिल्लो समय प्रहरीको निगरानीमा रहेका चक्रे लगातार विभिन्न अभियोगमा पक्राउ र रिहा भइरहेका छन्।
हालसालै दर्ता भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाले पुनः उनको आपराधिक पृष्ठभूमि र राजनीतिक संरक्षणको बहसलाई ताजा बनाएको छ।















