३० साउन,वीरगञ्ज । पर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीको संख्या २ हजार नाघ्दा पनि तीमध्ये अधिकांश मेलमिलाप प्रक्रियाबाट टुंग्याइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, साउन २८ गतेसम्ममा २ हजार ३५८ उजुरी परेका छन्, जसमध्ये १ हजार ६८९ उजुरी मेलमिलापमार्फत समाधान गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले दिएको जानकारीअनुसार, जिल्ला प्रशासन कार्यालयमा १,७२९ उजुरी परेका थिए भने जिल्ला प्रहरी कार्यालयमा ६२९ उजुरी दर्ता भएका थिए। तीमध्ये प्रशासनले २२० र प्रहरीले १,४६७ उजुरी फछ्र्योट गरेको छ।
६३७ उजुरी अझै बाँकी
हालसम्म मेलमिलाप प्रक्रियाबाट धेरै उजुरी टुंगिए पनि ६३७ उजुरी अझै बाँकी रहेका छन्। यस्तै, मिटरब्याजसम्बन्धी ३२ मुद्दा अदालतमा दर्ता गरिएका छन्। ती मुद्दामा १५ पुरुष र २ महिला गरी १७ जना व्यक्तिलाई पक्राउ गरिएको छ।
२८ करोडभन्दा बढी रकम र ४० बिघाभन्दा बढी जग्गा फिर्ता
मेलमिलाप प्रक्रियाबाट पीडितलाई कुल २८ करोड ५९ लाख ५५ हजार ५५७ रुपैयाँ बराबरको बिगो फिर्ता गरिएको छ। साथै, ४० बिघा १५ कठ्ठा १९ धुर जग्गा समेत फिर्ता दिलाइएको प्रहरी कार्यालयले जनाएको छ।
मिटरब्याजसम्बन्धी उजुरीहरू पहिले जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएकोमा २०८१ फागुन १ गतेदेखि जिल्ला प्रहरी कार्यालयमार्फत दर्ता गर्न थालिएको हो।
प्रहरी प्रशासनले उजुरी फछ्र्यौट, बिगो फिर्ता तथा कानुनी कारबाहीको प्रक्रिया प्रभावकारी रूपमा अघि बढाइरहेकाले पीडितले राहत पाउन थालेका छन्।















