३० साउन,ठोरी । भूमि समस्या समाधान आयोग पर्साले ठोरीका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाएको छ। ठोरी गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जग्गा नापजाँचका क्रममा उठेका विभिन्न प्रश्नहरूबारे छलफल भएको छ।
आयोगका अध्यक्षको स्पष्टीकरण
कार्यक्रममा आयोगका अध्यक्ष तबरेज अहमदले व्यक्तिगत स्वामित्वको जग्गालाई मात्र लालपुर्जा दिइने स्पष्ट पारे। क्लब, मन्दिर, गुम्बाजस्ता गैर–व्यक्तिगत संस्थाहरूको हकमा भने हाललाई लालपुर्जा नदिइने तर फिल्डबुकमा लगत राखिने उनले बताए।
अहमदका अनुसार, लालपुर्जामा जग्गाको क्षेत्रफल फिल्ड नापअनुसार कायम गरिनेछ र निस्सामा उल्लेख भएको कुरा अन्तिम नहुने हुँदा आवश्यक परेमा संशोधन हुनेछ। त्यस्तै, हुलाकी सडकको मापदण्डअनुसार जग्गा कटाएर बाँकी रहेको भागको मात्र लालपुर्जा दिइने जानकारी पनि उनले दिए।
राजस्व र नयाँ दर्ता प्रक्रिया
अध्यक्ष अहमदले राजस्वसम्बन्धी नियमबारे पनि जानकारी दिए। १७ सय वर्गमिटरसम्मको कृषि जग्गामा जग्गाको मूल्यांकनको ५ प्रतिशत र बसोबासी जग्गामा १० प्रतिशत राजस्व लाग्ने बताए। यद्यपि, जग्गाको मूल्यांकनसम्बन्धी आधिकारिक सूचना आयोगले नै जारी गर्ने भएकाले हल्लाको पछि नलाग्न उनले आग्रह गरे।
साथै, निस्सा प्राप्त गर्न छुटेका वा अंशबण्डा नभएका जग्गाधनीहरूका लागि नयाँ दर्ता प्रक्रिया सुरु गर्न पनि उनले आग्रह गरे। केन्द्रीय भूमि आयोगले जग्गा दर्ता छुटेकाहरूका लागि अन्तिम पटकको लागि ३५ दिने सूचना पनि निकालेको छ।
ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले लालपुर्जा वितरणलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर काम गर्ने प्रतिबद्धता जनाए। ’अघिल्लो सरकारले अधुरो छाडेको कामको जिम्मेवारी आफ्नो काँधमा आएको’ बताउँदै उनले लालपुर्जा वितरणमा कुनै पनि किसिमको राजनीतिक आग्रह वा पूर्वाग्रह नराख्न सबैलाई आग्रह गरे। जनताको साथ र सहयोग भए यो पटक जसरी पनि लालपुर्जा वितरण गरेरै छाड्ने उनको भनाइ थियो।
अन्तरक्रिया कार्यक्रममा ठोरी गाउँपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, ५ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, भूमि आयोगका प्रतिनिधि र सयौंको संख्यामा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।















