३१ साउन,इस्लामाबाद । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १९९ जनाको ज्यान गएको छ।
सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ १८० जनाको मृत्यु भएको छ। यसबाहेक, पाकिस्तान प्रशासित कश्मीरमा ९ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा ५ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा महिला र बालबालिकाहरूको संख्या पनि ठूलो रहेको छ।
उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ।
सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्लाहरूलाई ’विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ। स्थानीय बासिन्दाहरूले यस घटनालाई ’प्रलय’ सरह भयावह भएको बताएका छन्।
पाकिस्तानको मौसम विभागले आगामी दिनमा अझै भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानहरूबाट टाढा रहन आग्रह गरेको छ। सरकारले शनिबारलाई राष्ट्रिय शोकको दिन घोषणा गरेको छ।
जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसमी घटनाहरू बढ्दो क्रममा छन्। यस वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० भन्दा बढीको ज्यान लिइसकेको छ।

















