Logo

३१ साउन,काठमाडौं । देशको अग्रणी महिला स्वास्थ्य संस्था परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शनिबार एक विशेष समारोहका बीच आफ्नो ६६औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मीन बहादुर पौडेल प्रमुख अतिथि रहनु भएको थियो।

वि.सं. २०१६ सालमा जम्मा ४० शैय्याबाट सेवा सुरु गरेको यो अस्पताल हाल ४८९ शैय्यामा सेवा दिइरहेको छ। अस्पतालले विगत ६६ वर्षको यात्रामा लाखौं महिला र नवजात शिशुको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।कार्यक्रममा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार, गत आर्थिक वर्षमा अस्पतालमा २१ हजार सफल प्रसूति सम्पन्न भएका छन् भने बहिरंग सेवाबाट २ लाख ३३ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन्।

अस्पतालले सुरु गरेका ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक’ र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा (निःसन्तान उपचार) जस्ता कार्यक्रमहरूलाई मन्त्री पौडेलले राष्ट्रिय स्वास्थ्य प्रणालीका लागि अनुकरणीय भन्दै प्रशंसा गर्नुभयो।

मन्त्री पौडेलले अस्पताललाई थप ११ शैय्या थप गरेर ५०० शैय्यामा विस्तार गर्ने योजना सार्वजनिक गर्नुभयो। साथै, काठमाडौंका दुई नगरपालिकामा २५–२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणका लागि सम्झौता भइसकेको र त्यसले उपत्यकाको बढ्दो चाप व्यवस्थापनमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

“प्रसूति गृह केवल अस्पताल होइन, यो लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो। यसको ६६ वर्षको यात्रा नै नेपालको स्वास्थ्य क्षेत्रको प्रगतिशील इतिहास हो,” मन्त्री पौडेलले भन्नुभयो।

उहाँले हालै सरकारले ल्याएको निःसन्तान उपचारसम्बन्धी मापदण्डको सफल कार्यान्वयनमा यो अस्पतालको पुनःस्थापित आईभीएफ सेवा नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा समेत व्यक्त गर्नुभयो।

६६ वर्षे सेवा इतिहास बोकेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मातृशिशु स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान र आगामी योजनाहरूले नेपाली स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासमा थप टेवा पुर्‍याउने विश्वास गरिएको छ।


सम्बन्धित समाचार