३१ साउन,काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज (शनिबार) केवल पाँच मिनेट बसेर स्थगित भएको छ। बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा गणपूरक संख्या पुग्नै डेढ घण्टा कुर्नुपरेको थियो।
सांसदहरूले मागे समय, स्थगित भयो बैठक
डेढ घण्टाको पर्खाइपछि सुरु भएको बैठक जम्मा पाँच मिनेट मात्र चल्यो। समिति सभापति कुसुमदेवी थापाले बैठकमा सदस्यहरूलाई भूमि सम्बन्धी विधेयकको परिमार्जित प्रतिवेदन अध्ययन गर्न निर्देशन दिँदै बैठक स्थगित भएको घोषणा गरिन्।
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि सांसदहरूले थप अध्ययन गर्न समय अपुग भएको बताएपछि बैठक स्थगित गरिएको सभापति थापाले जानकारी दिइन्। यसअघि सांसदहरूको विरोधपछि भूमि मन्त्रालयले परिमार्जित मस्यौदा तयार गरेको थियो।
सांसदहरूको आरोप र प्रतिक्रिया
बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले विधेयकमा थप छलफल र अध्ययनका लागि समय आवश्यक परेको बताइन्।
नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले संघीय निजामती विधेयकमा भएको घटनाबाट पाठ सिक्दै भूमि विधेयकलाई गुणात्मक बनाउनका लागि आफूहरूले समय मागेको बताइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले भने सरकार र मन्त्रालय यो विधेयकप्रति गम्भीर नभएको आरोप लगाए। उनले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीकै असहमति र सत्ता पक्षका सांसदहरूले गोप्य बैठक बसेका कारण बैठक स्थगित भएको दाबी गरे। चौधरीले यो विधेयक भूमिहीनका लागि नभई ’प्रपञ्च’ मात्र भएको आरोप पनि लगाए।















