Logo

३१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज भैरहवा कारागारबाट काठमाडौं प्रस्थान गरेका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सारिएको हो।

कारागारबाट बाहिरिँदै गर्दा लामिछानेले एक भावनात्मक सन्देश भित्तामा लेखेर छाडेका छन्। उनले लेखेका छन् –
“अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ।”

प्रतिशोधको आरोप, न्यायको विश्वास

रास्वपा प्रवक्ता मनीष झाका अनुसार, रविले आफूमाथि प्रतिशोध साधिएको अनुभव सुनाउँदै उक्त सन्देश कारागारको कोठामा लेखेर निस्किएका हुन्।

लामिछानेले भनेका छन्,
“म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु — अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।”

उनले आफूले न्याय खोज्दा पनि प्रतिशोध भोग्नुपरेको उल्लेख गर्दै, अझै पनि अदालतप्रति विश्वास रहेको बताएका छन्।

सरुवा प्रक्रिया दबाबपछि कार्यान्वयन

लामिछानेले जेठ १४ गते कारागार सरुवाको निवेदन दिएपछि अदालतले अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोकेको थियो। मानव अधिकार आयोगको अनुगमन, सांसदहरूको विरोध र परिवारको अन्तर्राष्ट्रिय अपिलपछि अन्ततः सरकारले सरुवा कार्यान्वयनमा ल्याएको हो।

रवि लामिछानेले कारागारबाट निस्कँदा दिएको सन्देश आत्मबल, अन्यायविरुद्धको प्रतिरोध र न्यायप्रति आशाको संकेत हो। अब उनी नख्खु कारागारमा रहनेछन् र सहकारी ठगी प्रकरणको कानुनी प्रक्रिया त्यहीँबाट अघि बढ्नेछ।लामिछानेले आफूलाई १२६ दिनसम्म सहयोग गर्ने भैरहवाका जनता, सुरक्षाकर्मी र कारागार प्रशासनप्रति आभार व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै