३१ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिँदैछ। उनलाई हवाईमार्गबाट काठमाडौं ल्याउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। प्रवेशद्वारदेखि यात्रु आगमन क्षेत्रसम्म सुरक्षामा कडाइ गरिएको छ भने पत्रकार र सर्वसाधारणको आवतजावतमा निगरानी बढाइएको छ।
लामिछानेलाई लिन सुरक्षा टोली विमानस्थलमा तयारी अवस्थामा रहेको छ भने उनको समर्थक र रास्वपा कार्यकर्ताहरूको उपस्थिति पनि विमानस्थल परिसरमा देखिएको छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रुपन्देहीबाट नख्खु कारागारमा सार्ने निर्णय पछिल्लो समय मानव अधिकार आयोग, राजनीतिक दबाब र परिवारजनको चासो पछि कार्यान्वयनमा आएको हो।
















