३१ साउन,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच अलास्कामा भएको शिखर वार्तामा युक्रेनको युद्धविरामबारे कुनै सहमति नभएपछि युरोपेली संघ (ईयू) ले युक्रेनलाई आफ्नो निरन्तर समर्थन रहने स्पष्ट पारेको छ। ईयूका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेनको पक्षमा ऐक्यबद्धता प्रकट गरेका हुन्।
ईयू र नेटोको सदस्यतामा रूसले भिटो प्रयोग गर्न नपाउने
विज्ञप्तिमा ईयूले युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै युक्रेनी सशस्त्र बल वा तेस्रो मुलुकसँगको सहकार्यमा कुनै प्रतिबन्ध नहुने बताएको छ। साथै, ईयू वा नेटोमा युक्रेनको प्रवेशमा रूसले भिटो प्रयोग गर्न नपाउने पनि स्पष्ट पारिएको छ।
“युक्रेनले आफ्नो भूभागबारेका निर्णय आफैँ लिनुपर्छ। अन्तर्राष्ट्रिय सीमारेखा बल प्रयोग गरेर परिवर्तन गर्न पाइँदैन,“ विज्ञप्तिमा भनिएको छ।
यो संयुक्त विज्ञप्ति जारी गर्नेमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रिड्रिख मर्ज, बेलायतका प्रधानमन्त्री कीयर स्टार्मर, युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्ता, र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाएन लगायतका शीर्ष युरोपेली नेताहरू छन्।
दोस्रो चरणको वार्ता र निरन्तर दबाबको प्रतिबद्धता
युरोपेली नेताहरूले राष्ट्रपति ट्रम्पको शान्ति प्रयासलाई स्वागत गर्दै अर्को चरणको वार्तामा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिएका छन्। ट्रम्प–पुटिन वार्तापछि ट्रम्पले सोमबार जेलेन्स्कीलाई वाशिङ्टन बोलाएका छन्। ट्रम्प–जेलेन्स्की भेटपछि ईयूको समर्थनसहित दोस्रो चरणको त्रिपक्षीय शिखर सम्मेलन गर्न आफूहरू तयार रहेको युरोपेली नेताहरूले बताएका छन्।
विज्ञप्तिमा युक्रेनको सुरक्षाको ग्यारेन्टी आवश्यक रहेकोमा जोड दिँदै भनिएको छ, “हामी लडाइँ अन्त्य गर्न र न्यायपूर्ण शान्ति कायम गर्न युक्रेनलाई अझ बलियो बनाउन दृढ छौँ। युक्रेनमा हिंसा जारी रहेसम्म रूसमाथि दबाब कायम राख्छौँ।“ रूसको युद्ध अर्थतन्त्रलाई दबाबमा राख्न प्रतिबन्ध र आर्थिक नीतिहरू अझ कडा पारिने पनि विज्ञप्तिमा उल्लेख छ।
“युक्रेनले हाम्रो दृढ ऐक्यबद्धतामा भरोसा गर्न सक्छ,“ ईयू नेताहरूले भने, “हामी युक्रेन र युरोपको सुरक्षा हितका लागि शान्तिको मार्ग खोज्दै अघि बढ्नेछौँ।“

















