Logo

१ भदौ, काठमाडौँ । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ। पछिल्ला ४८ घण्टामा मात्र कम्तिमा ३ सय ४० जनाको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ ३२८ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । पाकिस्तान अधीनस्थ जम्मु–कश्मीरमा ११ र गिलगित–बाल्टिस्तान क्षेत्रमा १२ जनाको मृत्यु भएको पाकिस्तानको विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टीभीले जनाएको छ। मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

उद्धार कार्यमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी र स्वयम्‍सेवक परिचालन गरिएको छ । अझै धेरै मानिस बेपत्ता रहेका कारण मृतक संख्या बढ्ने आशंका गरिएको छ। पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा ६ सय टन खाद्यान्न तथा राहत सामग्री पठाएको छ ।

सरकारले बुनर, बजौर, मानसेरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ। स्थानीय बासिन्दाले घटनालाई ‘प्रलयको दिन’ जस्तै भयावह भएको बताएका छन् ।

यसबीच, उद्धारका क्रममा प्रयोग गरिएको प्रान्तीय सरकारको एक हेलिकोप्टर मौसम खराबीका कारण दुर्घटनाग्रस्त हुँदा दुई पाइलटसहित पाँच जनाको ज्यान गएको छ। मौसम विभागले आगामी दिनमा झन् भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ ।

सरकारले शनिबार देशव्यापी शोकको घोषणा गरेको छ। यस अवधिमा राष्ट्रिय झण्डा आधा भुकाइएको छ र मृतकलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।

विशेषज्ञहरूले जलवायु परिवर्तनका कारण पाकिस्तानमा असामान्य मनसुन र चरम मौसमका घटनाहरू बढ्दै गएको बताएका छन् । यो वर्षको असामान्य मनसुनले अहिलेसम्म ५ सयभन्दा बढी नागरिकको ज्यान लिइसकेको छ ।


सम्बन्धित समाचार