१ भदौ, वीरगञ्ज । मधेश प्रदेशमा साउन महिनामा धान रोपाइँको दरमा उल्लेख्य वृद्धि भएको छ। कृषि विकास निर्देशनालय मधेश प्रदेशका बाली संरक्षण अधिकृत सुदीप चौधरीका अनुसार असारको खडेरीपछि साउनको लगातार वर्षाले रोपाइँको प्रगति दर उच्च भएको हो ।
निर्देशनालयको तथ्याङ्कअनुसार मधेश प्रदेशको कुल पाँच लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिनमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने क्षमता छ। साउन मसान्तसम्म तीन लाख १९ हजार ६२६ हेक्टरमा धान रोपाइँ सम्पन्न भइसकेको छ, जुन कुल क्षेत्रफलको करिब ८६.३५ प्रतिशत हो ।
जिल्लागत अवस्था
सबैभन्दा बढी रोपाइँ पर्सा र बारामा ९८ प्रतिशत पुगेको छ। रौतहटमा ९० प्रतिशत, सर्लाहीमा ९०.३८ प्रतिशत, सिरहामा ८८.१७ प्रतिशत, धनुषामा ८२ प्रतिशत र महोत्तरीमा ७५.३४ प्रतिशत धान रोपाइँ भएको छ। सबैभन्दा कम सप्तरीमा ७५ प्रतिशत मात्र रोपाइँ भएको तथ्याङ्कले देखाएको छ।
उत्पादनमा कमीको अनुमान
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालका अनुसार गत वर्ष यसै अवधिसम्म ९५ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष करिब १० प्रतिशत कम रोपाइँ भएकाले समग्र धान उत्पादनमा करिब २० प्रतिशत कमी हुने अनुमान गरिएको छ । उनले असार महिनामा रोपिएको धानले उत्पादन राम्रो दिने तर साउनमा रोपिएको धानले उत्पादन घट्ने उल्लेख गरे।
जलस्रोत समाधानका पहल
लामो खडेरीका कारण उत्पन्न जल संकटलाई सम्बोधन गर्न सङ्घीय सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो। यसै क्रममा संघीय सरकारले तत्काल पाँच सय डिप बोरिङ निर्माण गर्ने योजना अघि सारेको छ भने प्रदेश सरकारले एक हजार चार वटा स्यालो ट्युबवेल जडान गर्ने कार्य अघि बढाइरहेको छ ।
सुनकोशी–मरिण परियोजना निरीक्षण
यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव र भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवसहितको उच्चस्तरीय टोलीले सिन्धुलीको खुर्कोटमा निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाको स्थलगत निरीक्षण गरेको छ । मुख्यमन्त्री सिंहले ठेकेदारलाई काम समयमै सम्पन्न गर्न निर्देशन दिँदै यस परियोजनाबाट करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको बताए ।

















