Logo

१ भदौ, वीरगञ्ज। प्रतीक प्रकाशन समूहले स्थापना गरेको ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ बाट वीरगञ्जका पत्रकार क्रान्ति शाह सम्मानित भएका छन्। उनलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए।

प्रतीक दैनिकका फोटो पत्रकार सुवोध सिंहको रेल दुर्घटनामा परी निधन भएपछि प्रतीक प्रकाशनले उनको स्मृतिमा हरेक वर्ष वीरगञ्जका एकजना पत्रकारलाई नगदसहित सम्मान गर्दै आएको छ। यो वर्ष अन्नपूर्ण पोस्ट् दैनिकका संवाददाता क्रान्ति शाहलाई नगद ५१ हजार राशी सहित सम्मान गरिएको हो। शाह यसअघि वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएमका स्टेशन म्यानेजर थिए।

प्रतीक प्रकाशन समूहको ३९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न पत्रकारहरू पनि सम्मानित भएका छन्। पत्रकार सूर्यनारायण विक, स्व. चिरञ्जीवी कोइराला स्मृति पुरस्कारबाट सम्मानित भएका छन्। उनले नगद १५ हजार रुपैयाँको पुरस्कार राशीसहित सम्मानपत्र पाएका छन्।

प्रतीक प्रकाशन गृहबाट हरेक वर्ष वितरण गरिँदै आएको स्तम्भकारको पुरस्कारबाट ओमप्रकाश खनाल सम्मानित भएका छन्। उनलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले प्रदान गरेका थिए। नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष समेत रहेका खनाल आर्थिक दैनिक अभियानका मधेश प्रदेश ब्युरो प्रमुख पनि हुन्।

त्यसैगरी, प्रतीक दैनिकका उत्कृष्ट संवाददाताको पुरस्कार प्रमोद यादवलाई प्रदान गरिएको छ। उनले पनि नगद १५ हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन्। उत्कृष्ट कर्मचारीको पुरस्कार श्यामजीप्रसाद गुप्तालाई नगद पाँच हजार रुपैयाँ र सम्मानपत्रसहित वरिष्ठ ज्येष्ठ नागरिक पशुपतिविक्रम शाहले दिएका थिए।

यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगी अनन्तकुमारलाल दासलाई विशेष सम्मान प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पुरस्कृत ओमप्रकाश खनाल, हरि गौतम लगायतका वक्ताहरूले आफ्ना धारणा राख्दै प्रतीक प्रकाशन समूहको योगदानको प्रशंसा गरेका थिए।

प्रतीक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५, लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षकद्वय गौतम मिश्र र दरबन्द भट्ट, ज्ञानदाका सीईओ राजेन्द्र कोइराला, राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका सदस्य रमेशकुमार दत्त, मधेश प्रदेश ज्येष्ठ नागरिक महासङ्घकी उपाध्यक्ष ज्योति शाह, ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष श्यामकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार