Logo

१ भदौ,काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। आज काठमाडौं आए लगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटपछि मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ।

यसैगरी, राजनीतिक भेटघाटको क्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गर्ने छन्।

उच्चस्तरीय राजनीतिक भेटघाटपछि, उनले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग द्विपक्षीय वार्ता गर्नेछन्। सोही दिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि उनको भेटघाट तय भएको छ।

भ्रमणको दोस्रो दिन, भदौ २ गते पशुपतिनाथ मन्दिरको दर्शन गरी उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ।


सम्बन्धित समाचार
भर्खरै