१ भदौ, जनकपुरधाम । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले वर्तमान सरकार संघीयता र समावेशी लोकतन्त्र विरोधी कदम चाल्न उद्धत रहेको आरोप लगाएकी छन्।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष भुसालले सरकारले एकपछि अर्को गर्दै संघीयता, समावेशीता र सुशासनको मर्म विपरित निर्णयहरू गरिरहेको बताइन्। उनले भनिन्, “भ्रष्टाचारजन्य कार्य, प्रतिशोधात्मक व्यवहार, भूमि सम्बन्धी जनविरोधी कानुन ल्याउने प्रयासजस्ता क्रियाकलापले वर्तमान सरकार संघीयताको मर्म विपरित अघि बढिरहेको छ।”
भुसालले निजामति सेवासम्बन्धी कानुनमाथि कुलिंग पिरियडको बेलामा गरिएको हस्तक्षेप र शिक्षा विधेयकलाई रोकिराखिएको अवस्था संविधान र संघीय संरचनामाथिकै हमला भएको टिप्पणी गरिन्।
एकीकरणको सन्दर्भमा उनले नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र जनता समाजवादी पार्टी (जसपा) लगायतका दलहरूसँग सकारात्मक संवाद भइरहेको जानकारी दिइन्। “विचार र कार्यदिशा मिल्ने राजनीतिक शक्तिहरूसँग एकताको हात अघि बढाइएको छ,” उनले भनिन्।
उपाध्यक्ष भुसाल आइतबार धनुषाको मिथिला विहारी नगरपालिका स्थित मिथिलेश्वरमा शहीद चन्देश्वर मण्डलको २० औँ स्मृति सभामा सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै, सोमबार गणेशमान चारनाथ नगरपालिका–१, बरमझियामा शहीद रामवृक्ष यादवको ३१ औँ स्मृति कार्यक्रममा सहभागी हुने जनाइएको छ।















