१ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुहरूका लागि नयाँ नियम लागू भएको छ।
अबदेखि यात्रुले उडान समयभन्दा कम्तीमा एक घण्टा अगाडि नै अध्यागमन जाँच डेस्कमा पुगिसक्नुपर्ने भएको छ। अध्यागमन विभागले यो निर्णय विशेषगरी रातिको समयमा हुने यात्रुको अत्यधिक चापलाई व्यवस्थापन गर्न र कागजात जाँच प्रक्रियालाई सहज बनाउन गरेको हो। महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, अन्तिम समयमा यात्रुको भीड हुँदा जाँच गर्न समस्या हुने भएकाले यो नियममा कडाइ गरिएको हो ।
यो व्यवस्था विशेषतः खाडी मुलुक जाने यात्रुहरूका लागि लक्षित गरिएको हो, जहाँ राति धेरै उडानहरू हुन्छन्। यससम्बन्धी निर्णयका लागि अध्यागमन विभागले विमानस्थलमा कार्यरत एयरलाइन्स र अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो।
यसअघि, विमानस्थल अध्यागमनमा भिजिट भिसामा हुने अवैध गतिविधि र असुलीका घटनाहरूबारे अख्तियारले छानबिन गरेको थियो। ती समस्याहरूलाई नियन्त्रण गर्न गृह मन्त्रालयले नयाँ नेतृत्व पठाएको थियो। नयाँ व्यवस्थाले अध्यागमन सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।















