Logo

१ भदौ, धनगढी। कैलाली कारागारमा हालै भएको हिंसात्मक घटनापछि प्रकाश ढुंगानालाई नयाँ जेलरका रूपमा पठाइएको छ। कारागार व्यवस्था विभागले उनलाई नेपालगन्ज कारागारबाट कैलालीमा सरुवा गरेको हो।

गत शुक्रबार राति कारागारमा कैदीबन्दीहरूबीच भएको हिंसात्मक घटनापछि काजमा पठाइएका जालन्धर भुसालको कार्यावधि सकिएपछि ढुंगानालाई जिम्मेवारी दिइएको हो।

नायब सुब्बा ज्ञानेन्द्र ओझाका अनुसार, ढुंगाना शनिबार कैलाली आइपुगेका छन्।

घटनाको पृष्ठभूमिमा ब्लक ए मा रहेका कैदीहरूले भित्तो फुटाएर ब्लक बी का कैदीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए। सो क्रममा लागुऔषध मुद्दामा जेल सजाय भोगिरहेका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए।

तीमध्ये तीन जना गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ। बाँकी ४५ जनाको सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा उपचार गरिएको थियो, जसमा ३४ जना डिस्चार्ज भइसकेका छन्।

तर, घटना पुनः दोहोरिन सक्ने आशंकाले उनीहरूलाई तत्काल कारागारमा फिर्ता नगरी अस्पतालमै राखिएको नायब सुब्बा ओझाले जानकारी दिए। डिस्चार्ज भएकामध्ये चार जनालाई कञ्चनपुर र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ।

घटनापछि कैलाली जिल्लास्थित सुरक्षा संयन्त्रको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालमाथि गम्भीर लापरवाही भएको भन्दै गृह मन्त्रालयले उनलाई मन्त्रालय तानेको छ। अब कृष्णप्रसाद लम्साललाई नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा दाङबाट कैलाली पठाइएको छ।


सम्बन्धित समाचार
भर्खरै