१ भदौ,पाल्पा,रामपुर । पूर्वी पाल्पाको रामपुर नगरपालिका–६, तिलकपुरका १० वर्षीय पवन कुमाल विगत एक वर्षदेखि फलामको खोरमा थुनिन बाध्य भएका छन्। मानसिक र शारीरिक रूपमा अशक्त भएका बालक पवनलाई उनका अभिभावकले बिहानदेखि साँझसम्म फलामे खोरमा थुनेर राख्नुपरेको अवस्था छ।
पवन कृष्णबहादुर र पूर्णमाया कुमालका जुम्ल्याहा छोरामध्ये जेठा हुन्। उनका कान्छा भाई पविन भने घर नजिकैको नवदुर्गा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।
आमा पूर्णमायाका अनुसार, पवनको बाल्यकालदेखि नै उपचार गराउने प्रयास गरिए पनि आर्थिक अभावले आवश्यक उपचार सम्भव नभएको हो। एक वर्षको उमेरमा पवनलाई खुट्टाको उपचारका लागि बनेपास्थित अपाङ्गता अस्पताल लगिएको थियो। पछि मुटुमा समस्या देखिएपछि शल्यक्रिया (अप्रेसन) गरियो। तर त्यतिबेला चिकित्सकहरूले मस्तिष्कको पनि शल्यक्रिया आवश्यक रहेको बताए।
डाक्टरका अनुसार मस्तिष्कको उपचारका लागि करीब सात लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। तर विपन्न परिवारले उक्त रकम जोहो गर्न नसक्दा पवनको नियमित उपचार रोकिएको हो।
बालक पवनका पिता कृष्णबहादुर कुमाल हाल खाडी मुलुकमा वैदेशिक रोजगारीमा भए पनि उपचारका लागि पर्याप्त रकम जुटाउन सकेका छैनन्। आमा पूर्णमाया भने घरमै छन् र दुई छोरामध्ये एकलाई विद्यालय पठाउने र अर्कोलाई थुनेर राख्नुपर्ने बाध्यतामा छन्।
स्थानीयहरूका अनुसार बालकको अवस्थाले समाज र सरोकारवालाको ध्यानाकर्षण आवश्यक देखिएको छ। राज्य, दातृ संस्था वा सहृदयी मनहरूबाट सहयोग जुटे, पवनको उपचार सम्भव हुने र उनी सामान्य जीवनमा फर्किन सक्ने परिवारको विश्वास छ।

















