१ भदौ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कुलमान घिसिङको नेतृत्वमा निरन्तर नाफा कमाइरहेको गौरवपूर्ण यात्रामा ब्रेक लागेको छ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा ३७ दशमलव ३२ प्रतिशतको भारी गिरावट आएको तथ्याङ्क सार्वजनिक भएको छ। प्राधिकरणकाअनुसार, गत आर्थिक वर्षमा प्राधिकरणले जम्मा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १० अर्ब ५३ करोड रुपैयाँको नाफाभन्दा २ अर्ब ४७ करोड रुपैयाँले कम हो ।
कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेसँगै नाफामा आएको यो पहिलो ठूलो गिरावटले प्राधिकरणको व्यवस्थापकीय दक्षतामाथि गम्भीर प्रश्नहरू उठाएको छ । प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नाफा घट्नुका पछाडि विभिन्न कारणहरू देखाएका छन् । उनका अनुसार, जापानी येनको अधिमूल्यन, प्रशासनिक खर्चमा भएको वृद्धि र विद्युतको औसत बिक्री मूल्यमा आएको कमीले नाफामा असर पुगेको छ ।
यसबाहेक, डेडिकेटेड लाइनको बक्यौता र नेपाल सरकारसँग बाँकी रहेको रकमको ‘प्रोभिजनिङ’ गर्दा साढे ५ अर्ब रुपैयाँ नोक्सानी भएको उहाँले बताउनुभयो। यी सबै बहानाबाजीले व्यवस्थापकीय कमजोरीलाई ढाक्ने प्रयास भएको देखिन्छ।















