Logo

१ भदौं, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि राष्ट्रपति भवनमा भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ।

भेटका क्रममा राष्ट्रपति पौडेलले भारतले गरेको सामाजिक, आर्थिक र प्राविधिक प्रगतिबाट नेपालले लाभ लिइरहेको र अझ बढी लाभ लिन चाहेको बताउनुभयो। उहाँले नेपाल र भारतबीचको सम्बन्ध शताब्दीऔंदेखि घनिष्ठ रहेको र यो सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग र आपसी विश्वासमा आधारित रहेकोमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले भारत सरकारको ुछिमेक पहिलो नीतिुको प्रशंसा गर्दै नेपालले सधैँ भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो।

यसैगरी, भारतीय विदेश सचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेक पहिलो नीति’ अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभयो। उहाँले आफ्नो भ्रमणको उद्देश्य दुवै देशको प्रगति र विकासका लागि ‘कनेक्टिभिटी’ बढाउने विषयमा छलफल गर्नु रहेको बताउनुभयो। साथै, यो भ्रमणले दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।


सम्बन्धित समाचार
भर्खरै