Logo

१ भदौ,सेढवा । लामो समयदेखि परेको खडेरी, रासायनिक मलको अभाव र श्रमिकको अभावका कारण पर्सा र आसपासका क्षेत्रका किसानहरू धानबालीको गोडमेलमा गम्भीर समस्यामा परेका छन्। पानीको अभावमा खेतमा झारपात अत्यधिक मात्रामा उम्रिएपछि किसानहरूले भारी आर्थिक बोझ खेप्नुपरेको गुनासो गरेका छन्।

जिराभवानी गाउँपालिका–२, सेढवाका किसान जगदिश चौधरीका अनुसार, समयमा कीटनाशक औषधि प्रयोग गरे तापनि झार नियन्त्रण हुन सकेन। “धानभन्दा झार नै बढी उम्रियो। दुई जनाले १५ दिनसम्म गोडमेल गर्न नसकेपछि अन्ततः ७० जना ज्यामी लगाएर काम सक्नुप¥यो,” उनले भने। चौधरीका अनुसार, गोडमेलमै १४ हजार रुपैयाँ खर्च भएको छ भने अझै दुई कट्ठा जमिन झारमै छाडिएको छ।

त्यस्तै, ठोरी गाउँपालिका–५, सुवर्णपुरका किसान प्रेम लामाले भने गोडमेलका लागि ज्यामी नै पाउन गाह्रो भएको बताए। “एक बिघा खेत गोडमेल गर्न ३५ हजार रुपैयाँसम्म खर्च भयो,” उनले भने। हाल श्रमिकको अभावका कारण आधा दिनको ज्यालादर २५० र पूरै दिनको ५०० रुपैयाँ पुगेको छ।

किसानहरूले सिचाइ, खनजोत, बीउ, औषधि र गोडमेलजस्ता काममा मात्रै एक बिघा खेतमा ७५ हजार रुपैयाँभन्दा बढी खर्च भएको उल्लेख गरेका छन्। तर, उत्पादन बिक्री गर्दा धानको मूल्य प्रति क्विन्टल १८०० रुपैयाँ मात्र पाउने भएकाले घाटा बेहोर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।

जगरनाथपुर गाउँपालिकाकी श्रमिक अनिता देवीले गोडमेलको काम अत्यन्त शारीरिक कठिनाइपूर्ण भएको बताइन्। “धेरै झार उखेल्दा औंलासम्म काटिएका छन्। घाम र थकानले स्वास्थ्यमा असर परेको छ,” उनले गुनासो गरिन्।

सरकारले किसानलाई अनुदानमा मल, बीउ र सिंचाइ सुविधा दिने भने पनि स्थानीय तहमा कार्यान्वयन कमजोर भएकाले किसानहरू पीडित भएको भन्दै तत्काल राहत र दीर्घकालीन समाधानको माग गरेका छन्।


सम्बन्धित समाचार