१ भदौ,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१ स्थित पिडारी टोलमा रहेको करिब ८ बिघा खाली ऐलानी जग्गामा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
समृद्धिका लागि वन परियोजना अन्तर्गत जगरनाथपुर गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा आँप, कटहर, जामुन, खयर लगायतका बहुउपयोगी वृक्षका विरुवा रोपिएको गाउँपालिका स्रोतले जनाएको छ।
वृक्षारोपण कार्यक्रमको समुद्घाटन प्रतिनिधिसभा सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका थिए।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा सांसद रिजालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, प्रदेशसभा सदस्य शंकर चौधरी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली कांग्रेसका नेता रमेश पाण्डे लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त वृक्षारोपण कार्यक्रमबाट खाली जग्गाको उपयोग गर्दै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र दीर्घकालीन आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले वनजङ्गलको संरक्षण र विस्तारमार्फत समृद्धि हासिल गर्न सकिने बताए। अध्यक्ष यादवले वृक्षारोपणलाई गाउँपालिकाको दीर्घकालीन योजना अन्तर्गतको महत्वपूर्ण पहल भन्दै त्यसको निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

















