२ भदौ, काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरेका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको परिवारले इजरायली उच्च नेतृत्वसँग भेटवार्ता गरेका छन्।
विपिनको खोजीको लागि इजरायल पुगेकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेट गरेका हुन्। भेटवार्ता इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको हो, जसमा नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए।
भेटका क्रममा आमा पद्माले छोराको तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरिन् भने बहिनी पुष्पाले दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न अनुरोध गरिन्।
राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र इजरायली सरकार निरन्तर सचेत रहेको उल्लेख गर्दै भने, “नेपाली विद्यार्थी विपिन हाम्रा आफ्नै नागरिक जस्तै लाग्छन्। उनको रिहाइका लागि हाम्रो सरकार दिनरात प्रयत्नरत छ।” उनले साथै नेपाली सरकारले सम्बन्धित अरब मुलुकहरूसँग थप पहल गरेमा प्रगति हुने विश्वास व्यक्त गरे।
संसद अध्यक्ष अमिर ओहानाले पनि विपिनको रिहाइका लागि प्रयास जारी रहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली : विपिन जोशीको सुरक्षित रिहाइ सरकारको पहिलो प्राथमिकता
प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकार हर सम्भव पहलमा जुटिरहेको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जानकारी दिए ।
उनले भने, “इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो। सरकार विपिन सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ।”
प्रधानमन्त्री ओलीले यसअघि नै मध्यपूर्व शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग फोन संवाद गरी विपिनको रिहाइबारे ध्यानाकर्षण गराएको पनि उल्लेख गरे ।
उनका अनुसार, विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलस्थित नेपाली दूतावासको समन्वयमा राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेट गरी छिट्टै रिहाइका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले विपिनको खोजी र रिहाइमा सहयोग पुर्याइरहेका नेपाली तथा स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद व्यक्त गर्दै विपिनका परिवारको साथमा सरकार दृढ रूपमा रहेको पुनः दोहोर्याए ।















