Logo

२ भदौ,वीरगञ्ज । लामो समयदेखिको खडेरी र सुक्खा मौसमले किसानलाई चिन्तित बनाएपनि पर्सा जिल्लामा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र पर्साले दिएको जानकारीअनुसार, जिल्लाका अधिकांश क्षेत्रहरूमा धान रोपाइँ कार्य सम्पन्न भइसकेको छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकृत उमेश थापाका अनुसार जिल्लाका १४ वटै स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्यांक संकलन गरिएको हो। “सबै पालिकाका कृषि शाखाबाट प्राप्त विवरण अनुसार जिल्लामा औसत ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ,“ थापाले जानकारी दिए।

उनका अनुसार हालसम्म वीरगन्ज महानगरपालिका र सखुवाप्रसौनी गाउँपालिका मात्रमा केही रोपाइँ बाँकी छ। वीरगन्जमा करिब डेढ प्रतिशत र सखुवाप्रसौनीमा पनि त्यसै हाराहारीमा रोपाइँ भएको जनाइएको छ। अन्य पालिकामा पनि केही थोरै मात्रामा रोपाइँ बाँकी रहेको छ।

थापाले अब जिल्लामा थप रोपाइँ नहुने सम्भावना रहेको स्पष्ट पारे। उनका अनुसार अघिल्ला वर्षहरूमा पनि पर्सा जिल्लामा कहिल्यै शतप्रतिशत रोपाइँ नभएको पाइन्छ।

यस वर्ष पर्सा जिल्लामा करिब ३९ हजारदेखि ४० हजार हेक्टर जमिनमा बर्खे धानको खेती गरिएको छ। गत वर्ष पनि यस्तै परिमाणमा रोपाइँ भएको थियो। धान बाली पर्सा जिल्लाको प्रमुख बाली हो, जुन सबै १४ वटै स्थानीय तहमा मुख्य बालीका रूपमा खेती गरिन्छ।

कृषकहरू अहिले रोपिएको धानबालीमा मलछर्की र स्याहारसुसारमा व्यस्त छन्। समयमै वर्षा नभए पनि किसानले अनुकूल समय मिलाएर रोपाइँ कार्य सम्पन्न गरेका हुन्।


सम्बन्धित समाचार