Logo

२ भदौ,काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शनिबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्। भेटवार्तामा दुई देशबीचको सैनिक सहकार्य, आपसी सम्बन्ध र साझा हितका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा तथा विपद्पछिको अनुसन्धानमा प्रयोग हुने कुकुरहरू सहयोगस्वरूप हस्तान्तरण गरेको छ।

सैनिक मुख्यालयमा हस्तान्तरण कार्यक्रम

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा विदेश सचिव मिस्रीले ती सामग्रीहरू नेपाली सेनालाई औपचारिक रूपमा हस्तान्तरण गरे। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रधानसेनापति सिग्देलसहित नेपाली सेनाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

नेपाल–भारत सैनिक सम्बन्ध अझ प्रगाढ

नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक तहमा मात्र सीमित नभई सैनिक तथा जनस्तरसम्म गहिरो रहँदै आएको छ। एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने परम्परा, वार्षिकरूपमा सैनिक तालिम तथा प्रशिक्षण आदानप्रदान, तथा साझा आपत्कालीन सहकार्यले दुई मुलुकको रक्षा सहकार्यलाई अझ बलियो बनाएको छ।

साझा संस्कृति र खुला सीमा

नेपाल–भारत सम्बन्धलाई अझै घनिष्ट बनाउन साझा भाषा, धर्म, संस्कृति र खुला सीमाबाट हुने आवतजावत प्रभावकारी आधार बनेका छन्। जनस्तरसम्म फैलिएको मित्रता दुई देशबीचको सम्बन्धको विशेषता हो।

विदेश सचिव मिस्रीको यो भ्रमणले द्विपक्षीय सैनिक सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै