२ भदौ,सियोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाबाट उत्पन्न हुँदै आएको आणविक खतरालाई सामना गर्न सोमबारदेखि वर्षे ठूला सैन्य अभ्यास ‘उल्ची फ्रिडम सिल्ड’ सुरु गरेका छन्। उक्त ११ दिने अभ्यासमा २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन्।
सैन्य अभ्यासको क्रममा कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अपरेसन तथा मैदानी तालिम सञ्चालन हुँदैछ। यद्यपि उत्तर कोरियाले यस अभ्यासलाई बारम्बार “आक्रमणको पूर्वाभ्यास“ भन्दै कडा विरोध गर्दै आएको छ।
उत्तर कोरियाको चेतावनी : “कुनै पनि उक्साहटको जवाफ दिन तयार“
उत्तर कोरियाका रक्षामन्त्री नो क्वाङ चोलले गत साता अभ्यासलाई ‘सैन्य टकरावको संकेत’ भनेका थिए। उनले उत्तर कोरियाली सेना कुनै पनि सीमा उल्लंघनको प्रतिकार गर्न तयार रहेको स्पष्ट पारेका छन्।
यो अभ्यास दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको वासिङ्टन भ्रमणको केही दिनअघि सुरु भएको हो। उनी अगस्ट २५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर बैठकको तयारीमा छन्। ट्रम्पले विगतमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरूको खर्चमा वृद्धि गर्न दबाब दिँदै आएका छन्, जसले गठबन्धनमा तनाव सिर्जना गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको कूटनीतिक पहललाई बेवास्ता गर्दै आफ्नो हतियार कार्यक्रम तीव्र बनाइरहेका छन् र रुससँग सम्बन्ध गाढा बनाउँदैछन्। यस्तो अवस्थामा कोरियाली प्रायद्वीपमा पुनः सैन्य तनाव चुलिने संकेत देखिएको छ।
दक्षिण कोरियाले सोमबारदेखि चार दिने नागरिक सुरक्षा अभ्यास पनि सुरु गरेको छ। अघिल्लो सरकारको पालामा यस्ता अभ्यासको दायरा बढाइएको थियो, जसले उत्तर कोरियालाई क्रोधित बनाएको थियो।
अन्तर–कोरियाली सम्झौतामा अन्योल
ली सरकारले सन् २०१८ मा हस्ताक्षर भएको अन्तर–कोरियाली सैन्य सम्झौता पुनःस्थापना गर्ने संकेत दिएको छ। तर, उत्तर कोरियाले सन् २०२४ मा फोहोरले भरिएका बेलुन पठाएपछि दक्षिण कोरियाले सम्झौता स्थगन गरेकाले सो प्रयास अनिश्चित देखिन्छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने संयुक्त सैन्य अभ्यास र सम्झौता पुनस्र्थापनाबीच कुनै सीधा सम्बन्ध नभएको स्पष्ट पारेको छ। यद्यपि केही क्षेत्रमा बाढी र गर्मीका कारण प्रशिक्षण कार्यक्रम सेप्टेम्बरसम्म सारिएको जानकारी पनि दिइएको छ।
अमेरिका–दक्षिण कोरिया गठबन्धनको भविष्य?
ट्रम्प प्रशासनले अघिल्लो कार्यकालमै दक्षिण कोरियालाई २८,५०० अमेरिकी सैनिकको लागत बढाएर व्यहोर्न आग्रह गरेको थियो। हाल उनका सहयोगीहरूले गठबन्धन पुनः संरचनाको संकेत दिएका छन्, जसले सियोलमा अमेरिकी सैनिकहरूको भूमिका घट्न सक्ने अनुमान छ।
विशेषज्ञहरू भन्छन्— यस्तो अवस्थामा दक्षिण कोरियाले थप सुरक्षा खर्च व्यहोर्नुका साथै उत्तर कोरियाको प्रतिरोधमा अझै ठूलो भूमिका खेल्नुपर्नेछ। अमेरिकी सेनाको ध्यान चीनतर्फ केन्द्रित हुने अवस्था आएको भन्दै रणनीतिक पुनर्संरचना आवश्यक देखिन्छ।
अमेरिकी सेनाका कमान्डर जनरल जेभियर ब्रुनसनले हालै पत्रकारहरूसँग बोल्दै “स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्र” सुनिश्चित गर्न गठबन्धनलाई थप आधुनिक र लचकदार बनाउनु पर्ने आवश्यकता औंल्याएका थिए।

















