२ भदौ,विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको स्पष्ट पारेकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो ४५ वर्ष लामो एमालेसँगको सम्बन्ध स्मरण गरिन्।
“म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो,“ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “पार्टीको हितका लागि सधैं काम गर्छु।“
पार्टीको निर्णयबारे जानकारी छैन
एमालेको केन्द्रीय कमिटीले भण्डारीको भूमिकाबारे गरेको भनिएको निर्णयबारे सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले आफूलाई औपचारिक जानकारी नभएको बताइन्। “पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन, सबै सदस्यलाई सबै कुरा थाहा हुँदैन नि! कमिटीमा बस्नेहरूलाई थाहा होला,“ उनले भनिन्।
उनले आफू अहिले एमालेको केन्द्रीय समिति सदस्य नरहेको बताउँदै, “त्यसैले पार्टीको आधिकारिक निर्णयबारे म जानकार छैन,“ स्पष्ट पारिन्। सञ्चारकर्मीहरूले उनलाई एमालेभित्र ‘गुट चलाएको’ आरोपबारे प्रश्न गर्दा भण्डारीले “मलाई गुट चलाउन आउँदैन” भन्दै सो आरोप अस्वीकार गरिन्।
प्रतिष्ठानबारे सोध्दा नेताहरूसँग सोध्न सुझाब
मदन–आश्रित स्मृति प्रतिष्ठानबारे उठेका प्रश्नहरूमा भने उनले “त्यो कुरा पार्टीका नेताहरूलाई सोध्नु राम्रो हुन्छ” भन्दै जवाफ दिन टारिन्। विद्यादेवी भण्डारी एमालेको नेतृत्वमा लामो समय संलग्न रहँदै नेपाल राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। राष्ट्रपति पदबाट निवृत्त भएपछि उनको पार्टीसंगको भूमिकाबारे पटक–पटक सार्वजनिक चासो र बहस चलिरहेको छ।

















