२ भदौ,काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी सचिवालय सदस्य धर्मराज तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विभिन्न नियम तथा प्रक्रियामा देखिएका त्रुटिहरू सच्याउन माग गर्दै उपकुलपतिको ध्यानाकर्षण गराएका छन्।
तिमिल्सिनाले त्रिवि जस्तो गरिमामय संस्थाले “त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियम २०५०“ मा अघिल्ला संशोधनहरू हटाएर नयाँ नियमावली प्रकाशित गरेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनले यस्ता कामले संस्थागत पारदर्शिता र विधिको शासनमा आँच आउने चेतावनी दिएका छन्।
उनले महिलाका हकहितलाई समेट्दै “त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५०” मा उल्लेखित २३ प्रतिशत महिला आरक्षणलाई बढाएर ३३ प्रतिशत पु¥याउनुपर्ने माग राखेका छन्।
स्ववियु सम्बन्धी धारणा राख्दै तिमिल्सिनाले चुनाव चिन्हबाट निर्वाचित विद्यार्थी प्रतिनिधिहरूले संगठनको हितविपरीत काम गर्दा वा अनियमितता तथा भ्रष्टाचारमा संलग्न हुँदा कारबाहीपछि पद स्वतः रिक्त हुने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
साथै, त्रिवि परीक्षा नियन्त्रण कार्यालयको कार्यशैलीप्रति पनि उनले असन्तुष्टि जनाउँदै त्यसमा सुधार आवश्यक भएको बताएका छन्।
उनको ध्यानाकर्षणसँगै त्रिविमा सुधारका मागले फेरि चर्चा पाउने संकेत देखिएको छ।















