२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। छालामा पहेँलोपन देखिएपछि उनको स्वास्थ्य परीक्षणका लागि रगत अस्पताल पठाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
झाका अनुसार सोमबार बिहान रास्वपाका उपसभापति डोलप्रसाद अर्याल लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका थिए। भेटका क्रममा लामिछानेको छालामा पहेँलोपन देखिएकोले स्वास्थ्यमा समस्या हुन सक्ने भन्दै तत्काल जाँचको पहल गरिएको थियो।
“उहाँको स्वास्थ्यमा केही समस्या देखिएपछि उपसभापतिज्यूकै अनुरोधमा रगत परीक्षणका लागि अस्पताल पठाइएको हो,” प्रवक्ता झाले भने, “तर अहिलेसम्म रिपोर्ट आइसकेको छैन।”
रवि लामिछानेलाई दुई दिनअघि मात्र भैरहवा कारागारबाट स्थानान्तरण गरी नख्खु कारागार ल्याइएको हो। हाल उनी करिब ४ सय कैदीबन्दी रहेका ब्लकमा राखिएका छन्।
स्वास्थ्य परीक्षणको रिपोर्टपछि थप अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ। पार्टीले लामिछानेको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै आवश्यक स्वास्थ्य उपचारको सुनिश्चितता हुनुपर्ने माग पनि गरिरहेको छ।

















