२ भदौ,काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने नकारात्मक र अतिरञ्जित भाष्य निर्माण गरेर समाजलाई भ्रमित पार्ने प्रयास भइरहेको बताएका छन्।
पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले यस्ता भ्रम र चुनौतीलाई चिर्दै कांग्रेस अझ बढी सशक्त र क्रियाशील बन्ने बेला आएको बताए।
उनले आगामी दिनमा कुनै भ्रममा नपरी पार्टीलाई बलियो बनाउन सबैले जुट्नुपर्नेमा जोड दिँदै भने, “कांग्रेसले लामो संघर्ष, बलिदान र आन्दोलनमार्फत नेपालमा बहुदलीय लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको आधारशिला तयार पारेको छ।”
देउवाले शुभेच्छुक संस्थाहरूलाई पार्टीका मूल्य, मान्यता, आदर्श र नीतिलाई जनस्तरसम्म पुर्याउने महत्वपूर्ण अंग भएको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए।
उनले पार्टीभित्र बृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याउन सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई सक्रिय र गतिशील बन्न आग्रह गरे।
सभापतिले देशभरि मनाइने पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेलेको बताए।

















