३ भदौ, वीरगञ्ज । जीर्ण भौतिक संरचना र क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा वीरगञ्ज कारागार व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ । एक हजार कैदी राख्ने क्षमताको यस कारागारमा हाल एक हजार तीन सय १० जना कैदी तथा थुनुवा रहेका छन् ।
जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार क्षमताभन्दा बढी कैदी हुँदा दैनिकीमै समस्या आइरहेको छ। विसं २०२९ देखि सञ्चालनमा आएको यो कारागार पुरानो संरचनाको भएकाले व्यवस्थापनमा कठिनाइ बढ्दै गएको उनको भनाइ छ। उनले भने, “खुला ठाउँमा कारागार भएको भए व्यवस्थापन सहज हुन्थ्यो, क्षमताभन्दा बढी कैदी हुँदा दवाव बढेको छ।”
जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापनले वीरगञ्जको चिनी मिल क्षेत्रमा १८ बिघा क्षेत्रफलमा नयाँ कारागार स्थल बनाउन योजना बनाए पनि अझै कार्यान्वयन हुन सकेको छैन। हाल कारागारमा स्वदेशी र विदेशी गरी कुल १,३१० जना रहेका छन् ।
तीमध्ये स्वदेशी महिला कैदी पाँच, महिला थुनुवा ४२ र आश्रित दुई बालिका छन् भने स्वदेशी पुरुष कैदी तथा थुनुवा एक हजार ४६ जना छन् । त्यस्तै, विदेशी कैदी तथा थुनुवाको सङ्ख्या १९९ छ भने विदेशी महिला १६ जना रहेका छन् ।
पर्सा र बारा जिल्लामा अपराध गरेर अदालतबाट दोषी ठहरिएका र पुर्पक्षका लागि पठाइएका कैदी–थुनुवालाई यहाँ राखिने गरिएको छ । हाल कारागारमा ३२९ जना कैदी र ९७९ जना थुनुवा रहेका छन् ।
भीडभाडका कारण स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्ने गरेको कारागार प्रमुख भुसालले बताए । उनका अनुसार कैदी–थुनुवामा प्रायः मौसमी रोग देखापर्छन् । सामान्य उपचार कारागारमै हुने भए पनि जटिल बिरामीलाई नारायणी अस्पताल पठाइन्छ ।
कारागारमा शौचालयको समेत अभाव छ। ४७ वटा मात्रै शौचालय भएका कारण कैदी-थुनुवाले आलोपालो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । पुरानो संरचना, सीमित सुविधा र क्षमताभन्दा बढी कैदीकै कारण वीरगञ्ज कारागारको अवस्था दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ ।















