३ भदौ, जनकपुरधाम । मधेश प्रदेशमा पानीमा डुबेर ज्यान गुमाउने बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको छ । पछिल्ला तीन वर्षमा मात्र प्रदेशका आठ वटै जिल्लामा ५ सय ८६ जनाको मृत्यु भएकोमा ३ सय ४० जना बालबालिका रहेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृतक बालबालिकामध्ये बालकको संख्या बालिकाभन्दा बढी छ । प्रहरीका अनुसार पछिल्ला घटनाहरूले अभिभावकको लापरबाही, छारे रोग, सडक–पोखरी निर्माणमा बनेका खाल्टाखुल्टी तथा सुरक्षाको कमीलाई मुख्य कारण देखाएको छ ।
गत असार २४ गते जनकपुरधाम–१६, कपिलेश्वरबजारस्थित भैया पोखरीमा चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउतको डुबेर मृत्यु भएको थियो। दिदीबहिनी नुहाउने क्रममा गहिरो पानीमा फसेका थिए। त्यसअघि जेठ महिनामा धनुषाको कमला नगरपालिका–२ मा सडक निर्माणका लागि खनिएको खाल्डोमा परेर सात वर्षीय रितिक साह र पाँच वर्षीय रितिश साहको मृत्यु भएको थियो।
यस्तै असार २० गते धनुषाकै धनौजी गाउँपालिका–५, बहुअर्बास्थित सार्वजनिक पोखरीमा नुहाउने क्रममा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन नामक १०–१२ वर्ष उमेर समूहका तीन बालिकाले ज्यान गुमाएका थिए।
मधेश प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार “सावधानी नअपनाउने, बालबालिकालाई बिना निगरानी पोखरी, खोल्सातिर जान दिने, तथा योजनाविहीन रूपमा बनेका खाल्टाखुल्टी प्रमुख कारण हुन्।”
प्रहरी तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षयता पानीमा डुबेर मृत्यु हुनेमा सबैभन्दा बढी धनुषामा र सबैभन्दा कम पर्सामा घटना भएका छन्।
स्थानीयवासी तथा सरोकारवाला निकायहरूले यस्ता घटनाबाट बच्न तालिम, चेतना अभिवृद्धि तथा असुरक्षित पोखरी, खाल्टाखुल्टीको व्यवस्थापन तत्काल आवश्यक रहेको बताइरहेका छन् ।















