३ भदौ,हेटौँडा । बागमती प्रदेशलाई राजधानी काठमाडौँसँग जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।
उक्त सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको सुक्खा पहिरो हटाइएपछि आज (सोमबार) बिहानदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।
शनिबारदेखि पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक माथिबाट खसेको पहिरोले आवागमन पूर्ण रूपमा ठप्प पारिएको थियो।
प्रहरी र सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य तीव्र पारिएको र सडक खुल्नासाथ गाडीहरूको आवागमन सामान्य रूपमा सुरु भएको डीएसपी अर्यालले बताए।
उक्त सडकखण्ड काठमाडौँ उपत्यकालाई तराईसँग जोड्ने वैकल्पिक तथा छोटो मार्गका रूपमा महत्वपूर्ण मानिन्छ। सडक सञ्चालनमा आएसँगै यात्रु र सवारी चालकहरूलाई सहज भएको छ।















