३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने कांग्रेस र एमालेको अभियानमा नेकपा एकीकृत समाजवादीले साथ नदिने भएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरू यस्तो कुनै पनि गतिविधिमा सहभागी नहुने स्पष्ट पारेका छन्।
हस्ताक्षर संकलन जारी, तर समाजवादी अलग्गै
कांग्रेस र एमालेले उपसभामुख हटाउनका लागि सांसदहरूको हस्ताक्षर संकलन सुरु गरिरहेका बेला पाण्डेको यो भनाइ आएको हो। उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “त्यस्तो कुरामा हामी लाग्दैनौँ। हाम्रो सांसद चोरेर चोरिने कुरा होइन, सुटुक्क भोट हाल्ने पनि होइन।”
किन असहयोग ?
गत वर्षको भदौमा पनि कांग्रेस(एमालेले उपसभामुख रानालाई हटाउने प्रयास गरेका थिए, तर आवश्यक संख्या नपुग्दा उनीहरू रोकिएका थिए। पाण्डेले यसपटक पनि आफूहरूसँग कसैले सहयोग नमागेको र यो काम सम्भव नभएको दाबी गरे। एमाले-कांग्रेससँग दुईतिहाई पुगे हटाउलान, तर हामी त्यतातिर लाग्दैनौँ,” उनले थपे।















