३ भदौ,रौतहट । फतुवा विजयपुर नगरपालिकामा भएको भ्रष्टाचार र अनियमितता सम्बन्धी समाचार लेखेकै कारण दुव्र्यवहारमा परेका पत्रकार कृष्ण तिवारीमाथिको घटनामा, उपमेयर अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
इलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा जिल्ला अदालत रौतहटले सोमवार उनलाई पक्राउ गर्न आदेश दिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिएका छन्।
गत साउन ३० गते, पत्रकार तिवारी नगरसभा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा, सन्तपुर चौक नजिकै सनाउल्लाहले रोकेर दुव्र्यवहार गरेको आरोप छ।
घटनापछि तिवारीले दिएको जाहेरीका आधारमा, रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुरले अनुसन्धान गर्दै गत आइतबार अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
प्रहरी निरीक्षक यादवका अनुसार, सनाउल्लाहलाई खोजतलास गर्न छुट्टै प्रहरी टोली परिचालन गरिएको छ।
प्रेस चौतारीको कडा विरोध
यस घटनाप्रति प्रेस चौतारी नेपाल, रौतहट शाखाले घोर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।
सचिव मुकेश कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पत्रकारमाथि अंकुश लगाउने, अपशब्द प्रयोग गर्ने र आक्रमण गर्ने प्रयास प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रहार हो।”
विज्ञप्तिमा थप भनिएको छ, “पत्रकारलाई धम्की र आक्रमण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही नभए यस्ता घटना दोहोरिन सक्छन्।”
भ्रष्टाचारको समाचारपछि दुव्र्यवहार
पत्रकार तिवारीले महालेखा परीक्षकको प्रतिवेदनका आधारमा फतुवा विजयपुर नगरपालिकामा इन्धन र यातायात खर्चमा देखिएको अनियमितताबारे समाचार लेखेका थिए।
सोही समाचार सार्वजनिक भएपछि कावा मेयर खातुनका छोराले पत्रकारमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ।
नेपालमा पछिल्ला वर्षहरूमा स्थानीय तहमा भएको भ्रष्टाचार उजागर गर्ने पत्रकारहरू धम्की, दबाब र आक्रमणको शिकार हुन थालेकोप्रति विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ।
“पत्रकारिता चौथो अंग मात्र नभई लोकतन्त्रको मेरुदण्ड हो भन्ने तथ्यलाई बेवास्ता गर्दै समाचार लेख्ने कर्मीमाथि आक्रमण हुनु लोकतन्त्रकै लागि गम्भीर चुनौती हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
नगरपालिकाको अस्तव्यस्त अवस्था
२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका थिए। तर यादव विशेष अदालतबाट दोषी ठहरिएपछि खातुन कार्यवाहक मेयर बनेकी हुन्।
तत्कालीन मेयरको पद गुमेपछि, खातुनका श्रीमान् महमद सेराजको नगरपालिकाको प्रशासनमा अत्यधिक हस्तक्षेप हुन थालेको र त्यसले गर्दा नगरको दैनिक कार्य सञ्चालन अस्तव्यस्त बनेको भन्दै जनप्रतिनिधिहरूले नै गुनासो गर्दै आएका छन्।















