३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका बेला एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भनाइले अन्योल सिर्जना गरेको छ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘उपसभामुखविरुद्ध संसद्मा कुनै प्रस्ताव दर्ता गर्ने निर्देशन छैन, तर उहाँमाथि उठेको प्रश्नको हिसाब राफसाफ गर्न भने बाँकी छ।’
हस्ताक्षर संकलन जारी, तर उद्देश्य अस्पष्ट ?
आज बिहान कांग्रेस र एमाले दुवैले आफ्ना सांसदहरूलाई संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर संकलन गरेका छन् । नेताहरूले यो हस्ताक्षर उपसभामुखलाई हटाउनकै लागि भएको बताए पनि बर्तौलाले भने तत्काल प्रस्ताव दर्ता गर्ने कुनै तयारी नभएको दाबी गरेका छन् । उनले ‘कसले हल्ला चलायो थाहा भएन’ भन्दै उपसभामुखलाई हटाउने विषयमा तत्काल कदम नचालिने संकेत दिएका छन्।
यद्यपि, ‘उपसभामुखमाथि उठेको प्रश्न गम्भीर रहेको र त्यसको हिसाब गर्नैपर्ने’ उनको भनाइले भने यो विषय अहिलेलाई टरे पनि भविष्यमा उठ्ने सम्भावना जीवितै रहेको देखाउँछ।















