Logo

३ भदौ,काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खला अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको हो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए भने आसिफ शेखले २९, कुशल भुर्तेलले २७ रनको योगदान दिए। लोकेश बमले ११ बलमा आक्रामक २५ रन नटआउट बनाएर पारीको अन्त्यमा उत्कृष्ट प्रदर्शन गरे।

होबर्ट हरिकेन्स एकेडेमीका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २÷२ विकेट लिएर नेपाललाई ठूलो स्कोर बनाउनबाट रोके।

यो खेलसँगै शृङ्खलामा नेपालको चौथो प्रतिस्पर्धा हो। यसअघिका तीनै खेलमा नेपाल पराजित भएको थियो — पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइक, दोस्रोमा बङ्गलादेश ‘ए’ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो।
टप इन्ड टी–२० शृङ्खलामा ११ वटा टोली सहभागी छन्, जसमा प्रत्येकले लिग चरणमा ६ खेल खेल्नेछन्। अब नेपालले बाँकी दुई खेल भोलि मेलबर्न रेनेगेड्स र शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने तालिका रहेको छ।

शृङ्खला सम्पन्न भएपछि नेपालले अस्ट्रेलियामै केही अभ्यास खेलहरू पनि खेल्नेछ। यस सम्पूर्ण तयारीको उद्देश्य आईसीसी टी–२० विश्वकप छनोटका लागि सशक्त तयारी गर्नु रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।


सम्बन्धित समाचार