Logo

३ भदौ,काठमाडौं । भारतको मुम्बईमा लगातार परेको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ। आज पनि लगातार भारी वर्षा भइरहेका कारण विभिन्न स्थानहरूमा २ देखि ४ फिटसम्म पानी जमेको भारतीय सञ्चारमाध्यम भास्कर दैनिकले जनाएको छ।

विक्रोली क्षेत्रमा मात्र हिजो बिहान ८ः३० बजेदेखि आज बिहानसम्म २५५ मिलिमिटर वर्षा मापन गरिएको छ। अत्यधिक वर्षाका कारण मुम्बई महानगरपालिकाले विद्यालय, महाविद्यालय, सरकारी तथा अर्ध–सरकारी कार्यालयहरू बन्द गराएको छ।

वर्षाको असर यातायातमा पनि परेको छ। सडक यातायात अवरुद्ध भएको छ भने हवाई उडानहरूमा ढिलाइ भएको छ। अहिलेसम्मको जानकारी अनुसार, बाढीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।

हिमाचल प्रदेशमा पनि बाढीको क्षति

यसैबीच, हिमाचल प्रदेशको कुल्लु जिल्लामा लगातारको वर्षाले ब्यास नदीमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ। बाढीले भूतनाथ क्षेत्रमा तीन वटा पसल बगाएको छ भने सडकको एक हिस्सा क्षतिग्रस्त भएको छ। साथै, एक पुल पनि बगाएको समाचारमा उल्लेख गरिएको छ।

भारतीय मौसम विभागले मुम्बई र हिमाचल प्रदेशका विभिन्न क्षेत्रमा अझै केही दिन भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।


सम्बन्धित समाचार