Logo

३ भदौ, काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा एक दशककै सबैभन्दा धेरै नाफा र कर बुझाएका छन् ।

२० बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार, उनीहरूले कुल ७१ अर्ब १८ करोड रुपैयाँ नाफा कमाउँदै सरकारलाई ३२ अर्ब २४ करोड रुपैयाँ कर तिरेका छन् ।

आँकडाको चाखलाग्दो अवस्था

गत वर्षको तुलनामा बैंकहरूले तिरेको कर ११.८२ प्रतिशतले बढेको छ। गत दशकको आँकडासँग तुलना गर्दा, नाफा १५७ प्रतिशत र कर २२८ प्रतिशतभन्दा बढीले बढेको देखिन्छ। कुमारी बैंकले गत वर्ष ४५ हजार प्रतिशतले नाफा बढाएर २ अर्ब ११ करोड कमाए पनि ३ अर्ब ७५ करोड रुपैयाँ कर तिरेर सबैभन्दा बढी कर बुझाउने बैंक बनेको छ।

नबिल बैंक भने ७ अर्ब १२ करोड रुपैयाँ नाफासहित नाफामा पहिलो स्थानमा छ, जसले ३ अर्ब ४१ करोड कर तिरेको छ । नेपाल बैंकले भने ३ अर्ब ७७ करोड नाफा कमाउँदा पनि २० करोड रुपैयाँ मात्र कर तिरेर सबैभन्दा कम कर बुझाएको छ ।

कर घटाउने माग कायम

नाफा बढे पनि बैंकहरूले सरकारसँग आयकरको दर घटाउन निरन्तर माग गर्दै आएका छन्। हाल बैंक तथा वित्तीय संस्थामा ३० प्रतिशत आयकर लाग्छ, जसलाई घटाएर २५ प्रतिशतमा झार्न बैंकरहरूले आग्रह गरेका छन् ।
उनीहरूले बैंकिङ पहुँच विस्तारको लागत, शाखा खोल्न लाग्ने खर्च र बढ्दो खराब कर्जाको समस्यालाई कारण देखाउँदै करमा सहुलियत मागेका छन्। सरकारले भने हालसम्म आयकरको दर यथावत् नै राखेको छ ।


सम्बन्धित समाचार
भर्खरै