३ भदौ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले १८ वर्षअघि भएको गौर नरसंहारको घटनाको अनुसन्धान फेरि सुरु भएमा आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्। सर्वोच्च अदालतले हालै यो घटनाको छानबिन अघि बढाउन आदेश दिएको सन्दर्भमा उनको यस्तो भनाइ आएको हो।
सर्वोच्च अदालतले गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साहले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यो फैसला गरेको थियो।
यादवले अदालतको सम्मान गर्ने बताउँदै घटना भएको बेला पनि सरकारले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याइसकेको उल्लेख गरे। उनले त्यतिबेला नै मुद्दा अघि बढाउन सक्ने अवस्था नरहेको र अहिले आएर पुनः मुद्दा अघि बढाउनु राजनीतिक प्रतिशोध हुन सक्ने तर्क गरे। यद्यपि, सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म यस विषयमा थप बोल्नु हतार हुने उनको भनाइ छ।
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो। यो घटनाको छानबिनको माग गर्दै त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए।















